Friday, August 7



काठमाडौं, २२ साउन

साउन २० मा २०औं जन्मदिन मनाउन अत्यधिक मदिरा सेवन गरेका विप्लवमानसिंह डंगोलले ६ जनाको ज्यान जाने दुर्घटना गराएको स्विकारेका छन् । मंगलबार राति दुर्घटना गराएर फरार रहेका २० वर्षीय विप्लवमानले बुधबार मध्यरातमा आत्मसमर्पण गरेका छन् ।

प्रहरीले दाजु सञ्जयमानलाई नियन्त्रणमा राखेपछि भाइ विप्लवमान सम्पर्कमा आएका थिए । उनका बाबु र दाजु पक्राउ परेलगत्तै दुवैले विप्लवलाई आत्मसमर्पण गराउने वाचा गरे पनि बुधबार मध्यरातसम्म उनको अत्तोपत्तो थिएन । तर, प्रहरीले आत्मसमर्पण गर्न पटक-पटक चेतावनी दिएपछि मात्र उनले आफू ढल्कोमा एक साथीको घरमा बसेको जानकारी दिएका थिए ।

विप्लव साथीको घरबाट खिचापोखरीस्थित आफ्नो घरमा आएलगत्तै महानगरीय प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको थियो । मंगलबार बेलुका १२:४५ मा भएको दुर्घटनामा ६ जना पैदलयात्रीको ज्यान गयो, कार कच्याककुचुक भयो, तर चालक विप्लव सकुशलै छन् । उनको हात र काँधमा हल्का चोट मात्र लागेको छ ।

मंगलबार बेलुका भएको दुर्घटनामा पाँचजना भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको थियो । घटनामा भारत कसवामेहसरी घर भएका ५० वर्षीय धर्मनाथ सिन्हा, भारत सीतामढी घर भई काठमाडौं बांगेमुढा बस्ने २९ वर्षीय मदन गुप्ता, १५ वर्षीय सञ्जीव गुप्ता, ४० वर्षीया कृष्णादेवी, भारत मोतिहारी घर भई काठमाडौं कमलादी बस्ने ४६ वर्षीया विना सिंह र १७ वर्षीय सुजन श्रेष्ठको मृत्यु भएको छ । भारत घर भई काठमाडौं बांगेमुढा बस्ने २८ वर्षीय दीपक गुप्ता दुर्घटनामा गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ ।

विप्लव आफैंले गाडी चलाएको स्विकार्दै मोटरसाइकल ओभरटेक गर्ने प्रयास गर्दा दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी नवराज सिलवालले बताए । सिलवालका अनुसार २० गते विप्लवले २०औं वर्ष टेकेका हुन् । सो दिन उनको घरमा भएको पार्टीपछि तीनजना साथीलाई घर छोड्न जानेक्रममा मोटरसाइकललाई ओभरटेक गर्ने प्रयास गर्दा दुर्घटना भएको विप्लवले बताएका छन् ।

विप्लवका अनुसार दुर्घटनाको समयमा कारमा उनीसहित चारजना चढेका थिए । दुर्घटना भएलगत्तै उनी कारबाट निस्किएर ट्याक्सीमा चढेर ढल्कोमा रहेको साथीको घरमा गएको बताएका छन् ।

प्रहरीले दुर्घटनास्थलको प्रकृति र कारको अवस्थाको आधारमा चालकले अत्यधिक मदिरा सेवन गरेको निष्कर्ष निकाले पनि विप्लवले भने आफूले एक गिलास हि्वस्की मात्र खाएको दाबी गरेका छन् । तर, प्रहरीले उनको दाबीको विश्वास गरेको छैन ।

विप्लव अन्य नसालु पदार्थमा समेत फसेका छन् कि भनेर प्रहरीले उनीसित सोधपुछ गर्दा आफूले चुरोट मात्र खाने गरेको बताएको एक प्रहरीले भने । उनका परिवारले विप्लव डिस्को र क्यासिनोको लतमा फसेको जानकारी प्रहरीलाई दिएका थिए ।

दुर्घटनाको समयमा कारमा रहेका विप्लवका अन्य साथीहरूसँग जानकारी लिने प्रयास गरे पनि प्रहरी सफल भएको छैन । एसपी सिलवालले भने, 'उनका अन्य साथीहरूसँग पनि घटनाको बारेमा बुझ्ने प्रयास गरिरहेका छौँ । सम्पर्क भए पनि अहिलेसम्म उनीहरू प्रहरी कार्यालयमा आएका छैनन् ।'

कारचालक विप्लव नै भएको पुष्टि भए पनि उनीसँग सवारीचालक अनुमतिपत्र भए-नभएको पुष्टि गर्न प्रहरीले सकेको छैन । विप्लव पक्राउ परे पनि उनीबाट प्रहरीले सवारीचालक अनुमतिपत्र फेला पार्न सकेको छैन । सिलवालले यसबारेमा अनुसन्धान गरिरहेको मात्र बताएका छन् ।

घटनाको प्रारम्भिक अनुसन्धान मात्र सुरु भएकाले विप्लवमाथि कर्तव्यज्यानअनुसार मुद्दा अगाडि बढाउने कि सवारी दुर्घटनामा भन्नेसमेत तय भइसकेको छैन । मृतकका आफन्तहरूले पेटीमा हिँडिरहेकाहरूको मृत्यु भएकाले हत्या गर्ने नियत देखिएको दाबी गर्दै कर्तव्यज्यानमा मुद्दा चलाउन माग गरिरहेका छन् ।
विप्लवलाई सार्वजनिक गर्ने चाल पाएर प्रहरी परिसर हनुमानढोकाबाहिर भेला भएका पीडितका आफन्तहरूले विप्लवसँगै कारमा सवार अन्य व्यक्तिहरूलाई समेत पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गर्दै केही समय नाराबाजी गरेका थिए । उनीहरूले घटनाका दोषीलाई मृत्युदण्ड दिनुपर्ने मागसमेत
गरेका थिए ।

मृतकका परिवारमध्ये १५ वषर्ीय सञ्जीव गुप्ता र सुजन श्रेष्ठका आफन्तले मात्र किटानी जाहेरी दिएका छन् । अन्य मृतकका परिवारबाट किटानी जाहेरी नआएकाले मृतकहरूको सनाखत भए पनि दाहसंस्कार भने हुन सकेको छैन । ६ मृतकको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

विप्लवमानसिंहको बयान

२० गते मेरो जन्मदिन थियो । १२ उत्तीर्ण गरेर बिबिएम पढ्न बेंग्लोर जाने तयारीमा रहेकाले यसपालिको बर्थडे मेरा लागि स्पेसल थियो । अबका केही वर्ष घरमा बर्थडे मनाउन नपाइनेजस्तै थियो । त्यसैले साथी र परिवारसँगसँगै जन्मदिन मनाउने मेरो चाहनालाई आमा, बुबा र दाजुले सहमति दिनुभयो ।

जन्मदिन खिचापोखरीको घरमै मनाउन आमा-बुबाले भनेपछि त्यसैको तयारीमा लागेँ । निकट साथीहरू र परिवारका सदस्यका साथमा जन्मदिन मनाउने भनेकाले साथीहरूलाई इन्भाइट गरेँ । पार्टीका लागि सामानहरू परिवारले नै किनेका थिए । पार्टीका लागि बर्थडे केक, जुस, कोल्डडि्रंक्सका साथै हार्डडि्रंक्स गर्नेहरूका लागि सिग्नेचर हि्वस्की राखिएको थियो ।

पार्टीमा सोजी श्रेष्ठ, प्रोशानराज पाण्डे, प्रशंसाराज पाण्डे, शेखर अग्रवाल, सुमन र बेंग्लोर घर भएका अभिजितलाई बोलाएको थिएँ । पार्टीमा आमा, बाबा, दाइ र भाउजू गरी त्यस्तै २५ जनाजति जम्मा भएका थियौँ ।

२०औं जन्मदिनको पार्टीको तयारी भव्य थियो । घरका सदस्य र साथीहरू जम्मा भएपछि बेलुका पार्टी सुरु भयो । मैनबत्ती निभाएर केक काँटेँ । परिवारका सदस्य र साथीहरूले एकै स्वरमा बर्थडेको शुभकामना दिए । केक बाँडेपछि खानपिन सुरु भयो । हाड्रिङकस् गर्नेहरूले हि्वस्की खान थाले । वाइन नखानेहरूका लागि जुस, कोक र फेन्टाको व्यवस्था थियो । म त्यति हार्डडि्रंक्स गर्दिनँथेँ । तर, साथीहरूले कर गरेकाले एक गिलास हि्वस्की पिएँ । पार्टीमा रमाइलो भयो । सबैजनाले निक्कै इन्जोय गरे । बेलुका साढे ११ बजेसम्म नाचगान गरेर रमाइलो गरियो ।

साढे ११ बजेपछि पार्टी सकियो । आफ्नै सवारी भएका साथीहरू घरतिर गए । तीनजना साथीसँग आफ्नो सवारी नभएकाले उनीहरूलाई पुर्‍याउन आमासँग कारको चाबी मागेँ । अनि उनीहरूलाई लिएर साढे ११ बजेतिर घरबाट निस्किएँ ।

कार मैले नै चलाएको थिएँ । कारमा काठमाडौं ओमबहाल घर भएको सोजी श्रेष्ठ, काठमाडौं क्षेत्रपाटी घर भएको शेखर अग्रवाल र बेंग्लोर घर भई अहिले काठमाडौं आएका अभिजित थिए । सोजी मसँगै अगाडि सिटमा बसेको थियो । अन्य साथीहरू पछाडि थिए ।

साथीहरूबीचको सल्लाहअनुसार पहिला क्षेत्रपाटी बस्ने शेखरलाई छोड्ने कुरा भयो । त्यहीअनुसार म घरबाट बा.४प ८०३० को कार निकालेर क्षेत्रपाटी जान हिँडेँ । कारमा साथीहरूसँग रमाइला कुरा भइरहेका थिए । सडक सुनसान थियो । सवारीसाधन फाट्टफुट्ट चलिरहेका थिए । कार त्यस्तै ८०/९० किलोमिटर प्रतिघन्टाको स्पिडमा थियो ।


वीर अस्पताल कटेर केही अगाडि पुगेपछि बायाँ साइडमा बसेको सोजीले मोटरसाइकल आयो भन्यो । कार स्पिडमा भएकाले मोटरसाइकललाई उछिनेर अगाडि बढ्न कारको स्टेरिङ हल्का घुमाएकोजस्तो लागेको थियो । तर, धेरै काटिएछ । झ्याप्प ब्रेक हानेकोजस्तो लाग्छ । कार त फनक्कै घुमेर पछाडिको भाग रेलिङमा गएर ठोक्कियो ।

स्टेरिङ काट्दा त्यहाँ एकजना मात्र देखेको थिएँ । पछि त रेलिङबाट भटाभट मान्छेहरू खसिरहेको देखेँ । उनीहरू रेलिङबाट सडकमा लड्न थालेपछि बल्ल कारले मान्छे हान्यो भन्ने थाहा पाएँ । मान्छेहरू कराउन थाले । मलाई हल्का चोट लाग्यो । म कारबाट बाहिर निस्किएँ र दौडँदै अगाडि गएर ट्याक्सी चढेर ढल्कोमा रहेको साथी सुदीपको घर गएँ । साथीहरूलाई के भयो र उनीहरू कहाँ गए भन्ने थाहा भएन । बुधरबार दिनभर साथीको घरमा लुकेर बसेँ, परिवारसँग सम्पर्क भइरहेको थियो । दाइ र बुबालाई प्रहरीलाई लगेछ, बुबा त छुट्नुभएछ, तर दाइ राति पनि हिरासतमै बस्नुभयो । प्रहरीले फोन गरेर आत्मसमर्पण गर अन्यथा खतरा छ भनेपछि आत्मसमर्पण गर्न आएको हुँ।

श्रोत : नयाँ पत्रिका

1 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails