Wednesday, August 26

घटना भएको १९ दिनपछि सिंह परिवारले ३० लाख तिर्‍यो

भोटाहिटीमा  ६ जनाको ज्यान जानेगरी कार दुर्घटना गराएका काठमाडौं खिचापोखरीका विप्लवमान सिंह डंगोलको परिवारले ३० लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ । घटना भएको १९ दिनपछि सिंह परिवारले काठमाडौंका प्रमुख जिल्ला अधिकारीको रोहबरमा दुर्घटनामा मारिएका ६ जनाको परिवारलाई प्रतिपरिवार पाँच लाख रुपैयाँका दरले क्षतिपूर्ति तिरेको हो ।
भदौको पहिलो साता नै क्षतिपूर्तिको विषयमा सहमति भए पनि सिंह परिवारले क्षतिपूर्तिबापतको रकम दिन आनाकानी गरिरहेको थियो । पीडित परिवारले क्षतिपूर्ति दिन ढिलाइ भएको गुनासो गरेपछि सहमतिअनुसारको रकम दिलाउन प्रहरीले ताकेता गरेको थियो । सोमबार मध्याह्न विप्लवमानका दाजु सञ्जयमानसिंह जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पीडित परिवारलाई रकम बुझाएका हुन् ।
२० साउन राति १२:४५ मा भोटाहिटीमा भएको दुर्घटनामा पाँचजना भारतीय र एक नेपालीको मृत्यु भएको थियो । १५ वर्षीय किशोरलाई झाडापखाला लागेपछि वीर अस्पतालको 'इमर्जेन्सी'मा उपचार गराएर र्फकंदै गरेका भारत कसवामेहसरीका ५० वर्षीय धर्मनाथ सिन्हा, भारत सीतामढी घर भई काठमाडौं बांगेमुढा बस्ने २९ वर्षीय मदन गुप्ता, १५ वर्षीय सञ्जीव गुप्ता, ४० वर्षीया कृष्णादेवी र भारत मोतीहारी घर भई काठमाडौं कमलादी बस्ने ४६ वर्षीया विना सिंहको मृत्यु भएको थियो । दुर्घटनामा सिन्धुपाल्चोकका १७ वर्षीय सुजन श्रेष्ठको पनि मृत्यु भएको थियो । दुर्घटनामा घाइते भारत घर भई काठमाडौं बांगेमुढा बस्ने २८ वर्षीय दीपक गुप्ता उपचारपछि घर फर्किएका छन् ।
सिंहका परिवारले घाइते गुप्ताको बाँसबारी न्युरो अस्पतालमा उपचार गर्दा लागेको खर्च करिब तीन लाख ५० हजारसहित अन्य समस्या आएमा पुनः उपचार गराउने कागजमा हस्ताक्षर गरेको छ । दुर्घटना गराउने २१ वर्षीय विप्लवमान काठमाडौं परिसरको हिरासतमा छन् । उनीविरुद्ध मृतकका परिवारले लापरबाहीका साथ सवारी चलाएर हत्या गरेको भन्दै उजुरी दिएका छन् । प्रहरीले पनि उनीमाथि लापरबाहीका साथ सवारी चलाएर हत्या गरेको अभियोग लगाएर कर्तव्य ज्यानमुद्दा चलाउने तयारी गरेको छ । काठमाडौं परिसरका एसपी नवराज सिलवालले भने, 'घटना लापरवाहीले भएको देखिएकाले उनीमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउँछौँ ।'


-नयाँ पत्रिका

1 प्रतिक्रिया:

Collection from world said...

hatterika partner maile ta socheko thiye nayaa model car market maa aae bhanera tara ghatanaa rahechha so sad.

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails