Monday, August 10

जनजातिका प्रथम प्रधानसेनापति गुरुङ नियुक्त


काठमाडौँ, साउन २५ - सरकारले आइतबार प्रधानसेनापति रुक्माङ्गत् कटवालको अवकाश स्वीकृत गर्ने निर्णय गरेपछि बलाधिकृत रथी छत्रमानसिंह गुरुङ कायममुकायम प्रधानसेनापति नियुक्त भएका छन्। सैनिक मुख्यालयमा आइतबार आयोजित कार्यक्रममा कटवालले गुरुङलाई कार्यभार हस्तान्तरण गरेका थिए। रथी गुरुङ २०२८ सालमा सैनिक अधिकृत क्याडर्सको खुल्ला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका थिए। रथी गुरुङले यसअघि नेपाली सेनाको तेस्रो मर्यादाक्रममा बलाधिकृत विभागजस्तो महत्त्वपूर्ण विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए।

३७ वर्षदेखि सैनिक सेवामा समर्पित गुरुङको जन्म तनहुँ जिल्लाको पुलिभराङ गाउँमा एक साधारण परिवारमा भएको थियो। पिता इमानसिंह गुरुङ र माता ईमादेवी गुरुङको माहिला पुत्र गुरुङले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको शैक्षिक उपाधि हासिल गरेका छन्।उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

गुरुङकी श्रीमती नेपाल राष्ट्र बैंकको उपनिर्देशक पदमा कार्यरत छन्। उनका जेठा छोरा प्रतीक गुरुङले बेलायतबाट एमबीबीएस र एमआरसीएस गरेका छन् र कान्छा छोरा प्रवल गुरुङले ग्रिनविच विश्वविद्यालयबाट बीएस्सी गरेका छन्।

गुरुङका दाजु डम्बरमान सिंह गुरुङ ब्रिटिस गोरखा सेनाका अवकासप्राप्त क्याप्टेन हुन्। उनकी एक मात्र बहिनी कमला घले विजेश्वरी ज्ञान मन्दिर माविमा प्रिन्सिपल छन्। उनको बिहे नेपाली सेना कै उपरथी दमनबहादुर घलेसँग भएको हो। कान्छा भाइ निरमान सिंह गुरुङ पनि नेपाली सेनामा लेफ्टिनेन्ट कर्णेल छन्।

नेपाली सेनामा भर्ना भएपछि गुरुङले भारतको देहरादूनस्थित इन्डिया मिलिट्री एकेडेमीबाट २ वर्षे आधारभूत तालिम लिएका थिए। त्यसपछि युवा अधिकृत कोर्स गर्न उनी बेलायत गएका थिए। त्यहाँ पनि उनी उत्कृष्ट भएका थिए।

भारतको आर्मी वार कलेजमा सिनियर कमान्ड कोर्स, जुनियर कमान्ड कोर्स, हाइ एभरेज इन्स्ट्रकटर कोर्स, काउन्टर इन्सरजेन्सी एन्ड जंगल वारफेयर कोर्स जस्ता तालिममा उनी सहभागी भएका थिए। भारतकै मिजोरममा उनले क्वालिफाइड इन्सट्रक्टर कोर्स, बीएसडब्ल्यु कोर्स जस्ता तालिम लिएका छन्। स्वदेशमा पनि उनले प्याराजम्प कोर्स, युद्धकला तथा प्रशासन, पहाडी युद्धकला, बटालियन कमान्डर कोर्सहरुमा प्रथम भएर पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।

सेनामा प्रायः प्रचार प्रसारमा आउन नचाहने र लो प्रोफाइलमा बस्न रुचाउने गुरुङले उपरथिका रुपमा द्वन्द्वकालमा सबैभन्दा संवेदनशील तथा महत्त्वपूर्ण मानिने मध्यपश्चिम पृतनापतिका रुपमा रहेका थिए।

रथी गुरुङले विदेश सेवाका क्षेत्रमा रहेर पनि पर्याप्त अनुभव आर्जन गरेका छन्। राष्ट्रसंघीय शान्ति सेना अन्तर्गत रहेर लेबनान, चीफ अफ स्टाफका रुपमा लेबनानमा रहेर पनि विश्व शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान दिएका छन्। त्यसैगरी बेलायतमा चार वर्य सैनिक सहचारीको जिम्मेवारी पनि उनले सम्पादन गरिसकेका छन्।

उनले राष्ट्रिय खेलकूद परिषद् र विश्व तेक्वान्दो महासंघबाट तेक्वान्डोमा ब्ल्याकबेल्टसमेत हासिल गरेका छन्।

श्रोत: लोकतन्त्र

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails