Monday, April 12

नेपाली संगीत: बजार घटे पनि आम्दानी घटेन

image

गायिका अञ्जु पन्तले वर्ष २०६६ मा कतिवटा गीत रेकर्ड गरिन् होला ? गायक राजेशपायल राईले यो वर्ष कतिवटा सांगीतिक कार्यक्रममा गीत संगीत प्रस्तुत गरे ? यी दुई भिन्न प्रश्न दुवै गायक-गायिकासँग सोधियो भने उनीहरू तुरुन्त जवाफ दिन सक्दैनन् । 'सम्भिmनै गाह्रो छ, डायरी नै पल्टाउनुपर्छ, राई इज किङको उपाधि पाएका राजेश पायल राईले साप्ताहिक संवाददाताको जिज्ञासामा जवाफ फर्काए- 'वर्षमा ५२ साता हुन्छन्, एउटै साता तीन-चारवटासम्म कार्यक्रममा गीत गाएको छु । यो हिसाबले पनि झन्डै दुई सयभन्दा बढी नै कार्यक्रममा गीत गाएँ होला ।' अर्कातिर अञ्जु पन्त पनि हप्तामा आठदेखि दस गीत रेकर्डिङ गर्न भ्याउँछिन् । यो हिसाबले उनले २०६६ सालमा मात्र २ सयभन्दा बढी गीत रेकर्डिङ गरिन् ।
राजेशपायल राई तथा अञ्जु पन्तले वर्ष २०६६ मा जत्तिको लोकपि्रयता यसअघि कहिल्यै पाएनन् । संयोग कस्तो रह्यो भने, उनीहरू दुवैले गाएको चलचित्र सिलसिलाको 'सागरसरि चोखो माया...' वर्षकै उत्कृष्ट चलचित्र गीतका रूपमा त रह्यो नै, उनीहरूका सुगम संगीतमा आधारित एकल गीत पनि उत्तिकै लोकपि्रय भए । रिमिक्स, आधुनिक तथा चलचित्रका गीतमा उत्तिकै व्यस्त अञ्जु पन्तलाई 'न बिर्सें तिमीलाई...' गीतले अत्यधिक व्यस्त बनायो भने राजेशपायल राईलाई 'दर्शन नमस्ते...' ले कुनै पनि विकेण्ड फुर्सदमा बिताउन दिएन, अर्थात् राजेश पायल तथा अञ्जु पन्तको सफलतालाई समग्र नेपाली सांगीतिक क्षेत्रको सफलतासँग गाँसियो । उनीहरूको लोकपि्रयतासँगै नेपाली सांगीतिक क्षेत्रमा पुनः सुगम संगीतको क्रेज बढ्न थालेको ठोकुवासमेत गरियो ।
केही वर्षअघिसम्म श्रोतालाई पप गीतले मोहनी लगाइरहेको थियो । काठमाडौं, पोखरा, धरान, चितवन आदि सहरमा पप गीत सिर्जना गर्ने सांगीतिक समूहको आफ्नै क्रेज थियो । पप गीतको लहर चलिरहेका बेला लोकदोहोरी गीत अचानक माथि उठ्यो । दुई वर्षअघि नेपाली सांगीतिक क्षेत्रमा लोकदोहोरी बाहेक अन्य विधाका गीत-संगीत नै तयार हुँदैनन् कि जस्तो पनि भयो । पछिल्ला दुई वर्ष यता भने लोकदोहोरीले पनि आफ्नो उत्कृष्टता कायम राख्न सकेन । अनि सुरु भयो, सुगम संगीतको पुरानै लहर । नेपाली सांगीतिक क्षेत्रको जननी मानिने सुगम संगीतको क्रेज वर्ष २०६५ देखि नै बढ्न थालेको थियो । वर्ष २०६६ सम्म आइपुग्दा सुगम संगीतले आफ्नो पुरानो लय मात्र फेला पारेन, सुगम संगीतमा आश्रति संगीतकर्मीलाई आर्थिक रूपले समेत सम्पन्न बनायो ।
आलोकश्री, महेश खड्का, सुरेश अधिकारी, राजु सिंह, वसन्त सापकोटाजस्ता पछिल्ला पिंढीका संगीतकारहरू वर्ष २०६६ मा अत्यन्त व्यस्त रहे । उदितनारायण झाको 'उपहार' संग्रह लोकपि्रय भएपछि केही समय सांगीतिक क्षेत्रबाट टाढिएका आलोकश्रीले यो वर्ष आकर्षक 'कम-ब्याक' गरेका छन् । 'सपनी राम्रो देखिन' देखि 'लुकाएर लाएको माया' सम्मका सुगम संगीतमा आधारित गीत तयार पारेका आलोकश्री वर्ष २०६६ को उत्तरार्द्धमा आएर चलचित्र संगीतमा समेत व्यस्त भए । महेश खड्कालाई अञ्जु पन्तले गाएको 'न बिर्सें तिमीलाई...' गीतले सफलताको शिखरमा पुर्‍यायो । उनका सुगम तथा चलचित्र संगीत दर्शकको रोजाइमा परिरहे । 'सागरसरि चोखो माया' गीतका कारण संगीतकार वसन्त सापकोटा चलचित्र संगीतमा पहिलो रोजाइका संगीतकार बने । सुरेश अधिकारी तथा राजु सिंहले पनि आफ्नो सांगीतिक कर्मलाई उत्साहजनक निरन्तरता दिइरहे ।
स्वरूप राज आचार्य पनि यो वर्ष अत्यन्त व्यस्त रहे । सुगम संगीतमा आधारित गीत गाएर लोकपि्रय भएका स्वरूप सांगीतिक कार्यक्रममा त व्यस्त भए नै साथै उनी चलचित्र पाश्र्व गायन तथा आधुनिक गीत रेकर्डिङमा समेत उत्तिकै व्यस्त भए । उनले गाएका एकपछि अर्को गीत स्रोताले रुचाए ।
चलेनन् पप
वर्ष २०६६ मा सुगम संगीतमा सक्रिय गायक, गायिका तथा संगीतकारले पाएको लोकपि्रयता पप संगीतका संगीतकर्मीले पाउन सकेनन् । सुगम पोखरेल, नवीन के भट्टराई, सविन राईजस्ता थोरै पप गायकले मात्र श्रोताहरूको मन जित्न सके । निमा रुम्बा सांगीतिक पक्षबाट नभइ ब्रान्ड एम्बेसडरका रूपमा लोकपि्रय रहे । निमा विज्ञापन तथा मोडलिङका लागि रोजाइका गायक बन्न पुगे । यो वर्ष पप संगीतमा आधारित दर्जनौं गीति संग्रह बजारमा आए, तर ज्यादै कम गीति संग्रहले मात्र श्रोताहरूको मन जिते ।
clip_image001
सुधारियो चलचित्र संगीत
केही वर्षअघिसम्म नेपाली चलचित्रको सांगीतिक पक्ष फितलो भएको आरोप लगाइन्थ्यो, तर वर्ष २०६६ मा केही नेपाली चलचित्रका गीत-संगीत अत्यन्त लोकपि्रय भए । सुगम संगीतमा निखारिएका संगीतकारहरू नै चलचित्र संगीतको क्षेत्रमा आएपछि चलचित्रका गीत पनि सुन्न लायक हुन थालेका हुन् । केही वर्ष चलचित्र संगीतबाट टाढिएका मेलोडी किङ संगीतकार शम्भुजित बास्कोटा पुनः चलचित्र संगीतमा व्यस्त हुन थालेका छन् ।
बजार बिगि्रयो गीतिसंग्रहको
३ हजारको मोबाइलमा झन्डै त्यति नै संख्यामा गीत राख्न मिल्ने सुविधा उपलब्ध हुन थालेपछि वर्ष २०६६ मा गीतिसंग्रहको व्यापार 'ध्वस्त' भएको संगीत व्यवसायीहरू स्वीकार गर्छन् । 'यो वर्ष कुनै पनि गायक-गायिकाको गीतिसंग्रहले सन्तोषजनक व्यापार गरेको छैन, म्युजिक डटकमका राजेश वंशल भन्छन्- 'गीतिसंग्रह किनेर गीत सुन्ने चलन नै गैसक्यो भने हुन्छ ।' राजेशले भने जस्तै यो वर्ष गीत-संगीत त लोकपि्रय भए, तर पैसा तिरेर गीतिसंग्रह किन्ने प्रचलन घटेपछि स्रष्टाहरू मारमा परेका छन् । एउटा गीति संग्रह -सिडी) बजारमा आएपछि त्यसको कपि गर्दै -पैसा नै नतिरी) मोबाइल, आईपोड, एमपी थ्रीजस्ता माध्यमबाट सुन्न पाइने व्यवस्था भएपछि गीतिसंग्रहको व्यापार चौपट भएको हो । 'आधा भन्दा बढी संगीत कम्पनीहरू बन्द भैसके, एक व्यवसायी भन्दै थिए- 'हामीले पनि केही कमाइन्छ कि भनेर लगानी गर्ने हो । बजारमा गीति संग्रह नै नगएपछि लगानी गरिरहने कुरै आउँदैन ।' 
विमोचनको लहर
बजारमा गीतिसंग्रहको बिक्री घटे पनि वर्ष २०६६ मा झन्डै १ सयभन्दा बढी गीतिसंग्रह विमोचन गरिए । तीमध्ये आधा गीतिसंग्रहको विमोचन त तारे होटलमै गरियो । विमोचन गरेपछि गीतिसंग्रहको प्रचार प्रसार हुने भएकाले पनि अधिकांश गायक-गायिकाले विमोचन समारोहमार्फत नै गीतिसंग्रह सार्वजनिक गर्न रुचि देखाए, तर अधिकांश गीतिसंग्रहको चर्चा विमोचन समारोहको दुई दिनपछि देखि नै बन्द हुन थालेपछि भने कतिपय स्रष्टा निराश समेत भए । गत भदौ महिनामा मात्र चार जना स्थापित संगीतकर्मीका गीतिसंग्रह भव्य कार्यक्रममार्फत विमोचन गरिए । साप्ताहिककै सहभागितामा राजेश पायल राईको दशन नमस्ते गीतिसंग्रहको विमोचन एभरेस्ट होटलमा गरियो भने लोकगायिका रेखा शाह तथा पप गायक राजु लामाले पनि सोही महिना आफ्ना गीतिसंग्रह सार्वजनिक गरेका थिए । संगीतकार शम्भुजित बास्कोटाको इन्स्ट्रुमेन्टल संग्रह पनि सोही महिना विमोचन गरिएको थियो । सीताराम पोखरेलको अक्टुबर ४ पनि भदौमै बिमोचन गरिएको थियो । तीमध्ये राजेशपायलको 'दर्शन नमस्ते' बाहेकका तीनवटा गीतिसंग्रहका कति प्रति बिक्री भए, सम्बन्धित संगीत कम्पनीले मात्र भन्न सक्छन् ।
clip_image002
सीआरबीटीको रोयल्टी
'गीतिसंग्रह बिक्री नभएर के भयो त, गीत राम्रो भयो भने स्रष्टाले जसरी पनि आम्दानी गर्न सक्छन्,' एक जना पुराना संगीतकर्मीको यो भनाइ यही वर्ष पूरा भयो । अर्थात् मोबाइलमा कल रिङ ब्याक टोन
-सीआरबीटी) राख्ने बढ्दो चलनले नेपाली गीतका स्रष्टाहरूलाई व्यावसायिक फाइदा पुर्‍यायो । लोकपि्रय गीतलाई मोबाइल प्रयोगकर्ताले डाउनलोड गरेका आधारमा प्रदान गरिने रोयल्टी पहिलो पल्ट यही वर्ष प्रदान गरियो । पहिलो पटक वितरण गरिएको सीआरबिटीको रोयल्टीमा गीतकार रमण घिमिरेको तिम्रो यादमा कल्पी-कल्पी गीत पहिलो स्थानमा थियो । म्युजिक नेपालले आफ्नो कम्पनीबाट निकालेकामध्ये सबैभन्दा बढी डाउनलोड भएका गीतलाई रोयल्टी प्रदान गरेको हो । त्यसमा रमणको गीत पहिलो नम्बरमा थियो । रोयल्टीबापत उनले १८ हजार रुपैयाँ पाएका थिए । संगीतकार एवं गायकलाई पनि दामासाहीले रोयल्टी बाँडिएको थियो । म्युजिक नेपाल अन्य चार लोकपि्रय गीतमा मंगोलियन हार्टका राजु लामाको रचना, स्वर तथा संगीतको पर्खाइमा..., कालिप्रसाद रिजालको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा रामकृष्ण ढकालको स्वरको मन पराउने हजार भेटिन्छन्, एस्पी कोइरालाको शब्द, आलोक श्रीको संगीत तथा र उदितनारायण झा तथा मल्लिका कार्कीको स्वर रहेको लाजको लाली तथा मिलन लामाको स्वर संगीत रहेको झल्को लाली ओठको गीत थिए ।
महोत्सव र विदेशमा मालामाल
वर्ष २०६६ मा देशव्यापी महोत्सव आयोजित गरिए । यस्ता महोत्सवमा गीत-संगीत सहितका सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण बने । यस्ता कार्यक्रममा सकेसम्म लोकपि्रय कलाकारलाई सहभागी गराउने होडबाजी नै चल्यो । अञ्जु पन्त, राजेश पायल राई, हेमन्त शर्मा, धीरज राई, कोमल वली, रेश्मा सुनुवार, हिमाल सागर, नलिन चित्रकार, डिजराज पौडेल, सुगम पोखरेल आदि गायक-गायिकाहरू वर्षभरि नै महोत्सवहरूमा व्यस्त रहे । एउटा महोत्सवमा सहभागी भएर गीत गाउँदा कम्तीमा २० हजार रुपैयाँ पारिश्रमिक पाइने तथा सातामा कम्तीमा एउटा महोत्सवमा सहभागी हुने गायक-गायिकाले वर्ष भरिमा लाखौं रुपैयाँ कमाएको अनुमान गर्न सकिन्छ ।
यसबाहेक केही गायक-गायिका विदेशमा आयोजित सांगीतिक कार्यक्रममा पनि व्यस्त रहे । राजेशपायल राई, अञ्जु पन्त, धीरज राई, रामकृष्ण ढकाल, सुगम पोखरेल, कोमल वली, नवीन के भट्टराई, रेश्मा सुनुवार, अभिनाश घिसिङ, रोज मोक्तान आदि गायक-गायिकाहरू विदेशमा आयोजित सांगीतिक कार्यक्रमहरूमा सहभागि भैरहे ।
आशालाग्दा अनुहारहरू
वर्ष २०६६ मा थुप्रै नयाँ गायक-गायिकाहरू सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् । तीमध्ये प्रविशा अधिकारी, सशान कँडेल, चेतन राई, श्वेता उप्रेती, सजल न्यौपाने, दुर्गा खरेल, पूर्ण राई, बिपना धिताल, लोकेन्द्र राई, कविराज निरौला, भूषण भट्टराई, सूर्य रुम्बा, आस्था बीजस्ता एक दर्जनभन्दा बढी प्रतिभाशाली गायक-गायिका सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् ।
व्यस्त भिडियो निर्देश्ाक
वर्ष २०६६ मा दर्जनौं म्युजिक भिडियोहरू निर्माण भए । तीमध्ये अधिकांश म्युजिक भिडियो झन्डै आधा दर्जन निर्देशकले नै बनाए । भूषण दाहाल, आलोक नेम्वाङ, जनकदीप पराजुली, सुरज श्रेष्ठ, प्रदीप कसपाल, प्रसन्न पौडेल, सुरजसिंह ठकुरी, अर्जुन अधिकारी आदि निर्देश्ाकहरू वर्षभरि नै व्यस्त रहे ।
वर्षका सर्वोत्कृष्ट दस गीत
१. दर्शन नमस्ते.... राजेशपायल राई
२. तिमीले पराई ठाने पनि.... अञ्जु पन्त
३. तिमीबिनाको जीवन.... नरेन्द्र प्यासी
४. धेरैचोटी मरेँ... शिव परियार
५. न बिसेर्ं तिमीलाई.... अञ्जु पन्त
६. आओ यादहरु... जगदीश्ा समाल
७. सपनी राम्रो देखिनँ... रूपक डोटेल
८. हल्ला चलेछ... राजु लामा
९. बदनाम भएँ म तिम्रै कारणले... अञ्जना गुरुङ
१०. मेरो प्यारो मान्छे... सिने गुरुङ
-स्रोत ः विभिन्न काउन्टडाउन कार्यक्रम/सीआरबीटी)

कान्तिपुर साप्ताहिक


0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails