Tuesday, June 8

केबलकारमा दैनिक ३ हजार ग्राहक


आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढेपछि मनकामना केबलकारका ग्राहक पनि बढेका छन् । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको मनकामना केबलकारमा यस वर्ष अहिलेसम्मकै बढी पर्यटकहरूले यात्रा गरेका छन् । मनकामना केबलकारको सञ्चालक चितवन कोई लिमिटेडका अनुसार केबलकार चढ्ने यात्रुको चापसँगै कारोबार पनि बढेको छ । अघिल्ला वर्षहरूमा दैनिक २ हजारले यात्रा गर्दै आए पनि हाल यात्रा गर्नेको संख्या ३ हजारले नाघेको मनकामना केबलकार अप्रेसन इञ्चार्ज सुनिल कर्माचार्यले जानकारी दिए । “पहिलेभन्दा अहिले पर्यटक बढेका छन्, त्यसमा पनि बढी भारतीय रहेका छन्” उनले भने । हालका दिनमा भारतमा अत्यधिक गर्मी बढ्ने भएकाले भारतीय पयर्टक मनकामनालगायतका पर्यटकीय स्थलको दर्शन गर्न आउँछन् । उनका अनुसार, केबलकार यात्रा गर्ने स्वदेशी पर्यटक ६० प्रतिशत र ४० प्रतिशत विदेशी छन् । चितवनको कुरिनटारमा रहेको मनकामना केबलकारले गोरखाको मनकामना धार्मिक स्थललाई जोडेको छ ।

अधिकतम विदेशी पर्यटक मनकामना दर्शन गर्ने जाने र २ प्रतिशत मात्र टे«किङ यात्रामा जाने गरेका छन् । केबलकारबाट ३.१ किलोमिटर दूरीमा रहेको गोरखा जिल्लाको आवात–जावतका साथै मनकामना माईको दर्शनका लागि पुलको काम गरेको छ । कुरिनटारदेखि मनकामनासम्मको स्वदेशीका लागि प्रतियात्रु टिकटदर ३ सय ९० रुपैयाँ छ भने विदेशी यात्रुलाई १५ डलर टिकट शुल्क लाग्ने व्यवस्था छ । यस कारोबारबाट वार्षिक २५ करोडभन्दा बढी कारोबार हुने गरेको छ ।
“पहिले २४ करोडदेखि २५ करोड रुपैयाँको कारोबार हुने गरेकोमा अहिले यात्रु बढेपछि कारोबार पनि बढेको हो”, कर्माचार्यले भने । केबलकारको कुल कारोबारको १ प्रतिशत रकम स्थानीय बासिन्दाले पाउने गरेका छन् । साथै उनीहरूले २४ सै घण्टा आपतकालिन सेवासमेत दिने गरेका छन् ।
स्थानीय केबलकार सञ्चालन क्षेत्र चितवनको दारेचोद (कुरिनटार) र गोरखाको मनकामना नमुना गाविसले वार्षिक २५ लाख रुपैयाँबराबरको रकम सहयोग पाउँदै आएका छन् । विगतका दिनमा विदेशी पर्यटकको संख्या कुल पर्यटक आवागमनको संख्यामा १४ देखि १५ प्रतिशतसम्म भए पनि अचेल त्यो संख्या बढेर १९ प्रतिशतसम्म पुगेको कर्माचार्य बताउँछन् ।
गत आर्थिक वर्षमा ६ लाख ७९ हजार १ सय ८५ पर्यटकले केबलकारबाट यात्रा गरेका थिए । चालू आर्थिक वर्षको एक महिना बाँकी छँदा (जेठ २३ गते) ७ लाख ४४ हजार ८ सय ९२ जनाले यात्रा गरिसकेको केबलकार व्यवस्थापनले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यो संख्या ५ लाख ९२ हजार ६ सय ५ थियो । हालसम्म ५८ लाख यात्रुले केबलकारबाट आवातजावत गरेको तथ्यांक कम्पनीसँग छ ।


२०५५ सालमा ४३ करोडको लागतमा केबलकारको निर्माण गरिएको हो । ७ वर्षभित्रै केबलकारले लगानी उठाइसकेको कर्माचार्यले जानकारी दिए । “अफ सिजनमा २ हजार हुन्छन्, अहिले यात्रु बढेर ३ हजारसम्म पुग्ने गर्छन्” उनले भने ।
यात्रु सवारका लागि ३१ वटा केबलकार र सामान ढुवानीका लागि फ्रेट केरियर रहेका छन् । यी केबलकार चल्नका लागि ४ हजार ४ सय किलोवाट विद्युत् खपत हुने गरेको छ । विद्युत् खपतबापत मासिक ३ लाख महसुल कम्पनीले बुझाउने गरेको जनाएको छ । केबलकार एजेन्ट बनी टिकट बिक्री गरिरहेका व्यवसायीले प्रतिटिकटमा ५ देखि १० प्रतिशत कमिसन पाउने गरेका छन् ।
सरकारले २०११ लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला थप पर्यटक भित्र्याउन मनकामना क्षेत्रमा बसोबासको व्यवस्थापन मिलाउने कर्माचार्यले बताए । “माथि मनकामनामा पर्यटकलाई दुई–तीन दिन बाँस बसाउने व्यवस्था मिलाएन होटल रेस्टुराँ र स्थानीय व्यवसायीले जोड दिनुपर्छ,” उनी भन्छन् । यसो भएमा वार्षिक पर्यटक आवागमन बढ्ने र कारोबार पनि बढ्ने उनको अपेक्षा छ

प्रकाश शाह
साभार: कारोबार

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails