Sunday, July 26

कर्ण शाक्य

आभार
यो पुस्तकको मुख्य उद्देश्य नेपालमा उद्यमीहरूको जमात तयार गर्नु हो। जुन बेलासम्म औद्योगिक विकास हुँदैन, देश समुन्नतिको बाटोमा अगाडि बढ्न सक्दैन। हाम्रो देशमा मात्र होइन, कहीँ पनि वर्गहीन आर्थिक समाज सम्भव हुँदैन। कसैसँग स्रोत छ, साधन छैन, कसैसँग साधन छ, स्रोत छैन। कसैसँग विचार छ, लगानी छैन अनि कसैसँग लगानी गर्ने पैसा छ तर विचारको कमी छ। यो ‘छ र छैन’, ‘सक्ने र नसक्ने’ बीचको खाडलमा यदि हामीले उद्यमशीलताको पुलेसो निर्माण गर्न सक्यौँ भने औद्योगिक क्षेत्रमा धेरै विकास गर्न सक्छौँ। त्यसैले नेपाली युवाहरूलाई उद्यमशील बनाउने अभ्रि्रायले मैले यो पुस्तक लेखेको हुँ। यसमा मैले न लेखकीय विद्वत्ता छाँट्न खोजेको हुँ, न साहित्यिक व्यसनका लागि आलङ्कारिक शब्दजाल थुपार्न चाहेको हुँ। यो कुनै प्राज्ञिक अभ्यास पनि होइन, यो त खालि व्यावहारिक अनुभवमा आधारित एउटा व्याख्यात्मक सुझावमूलक कृति हो। यसलाई उद्यमशील अभ्यास पुस्तिका (Entrepreneurial Guide Book) का रूपमा प्रयोग गर्न म पाठकहरूलाई विनम्र अनुरोध गर्दछु।
यहाँ मैले औद्योगिकीकरणका निम्ति अत्यावश्यक तथ्यहरू सम्झनयोग्य (Comprehensive) तरिकाले प्रस्तुत गर्न खोजेको छु। जसरी पूजापाठ गर्दा हामी मन्त्रहरू बारम्बार उच्चारण गर्र्छौं त्यसरी नै उद्योग पनि एउटा यज्ञ भएको हुँदा मैले यस पुस्तकमा उद्योगसित सम्बन्धित केही धरातलीय एवम् व्यावहारिक कुराहरू ठाउँ-ठाउँमा दोहोर्‍याएर प्रस्टयाउन खोजेको छु, किनभने सुनलाई गहना बनाउँदा बारम्बार ठोक्नुपर्छ अनि मात्र त्यसले स्वरूप लिन्छ। साथै जगन्नाथ गुरागाईंद्वारा रचित ‘गुण-रत्नमाला’ का उद्योगसम्बन्धी सान्दर्भिक श्लोकहरू हरेक लेखको सुरुमा उद्धृत गरेको छु। मैले यहाँ मेरा पूर्वप्रकाशित ‘सोच’ र ‘खोज’ पुस्तकमा उल्लिखित केही उद्यमशीलताका प्रसङ्गहरू पनि उल्लेख गरेको छु।
यस पुस्तकमा जम्मा ३४ जना सिर्जनशील, सङ्घर्षशील, श्रमजीवी उद्यमीका सफलताका कथाहरू समावेश गरिएको छ। मलाई विश्वास छ, यी कथाहरूले नयाँ उद्यमी युवाहरूलाई उद्योग खोल्नमा प्रेरणाका साथै प्रोत्साहन दिनेछन्।
मेरा मित्रहरू राजेन्द्रबहादुर श्रेष्ठ, दिवाकर राजकणिर्कार र बालाप्रसाद श्रेष्ठले उद्यमीहरूको छनोट गर्ने अप्ठेरो काममा सहयोग गरेका थिए। साथै यसमा समाविष्ट ‘म सक्छु’ शीर्षकको मेरो लेखलाई परिष्कृत गर्न मलाई वरिष्ठ पत्रकार सुशील शर्माले सुझाव दिएका थिए। यसका लागि म उनीहरूप्रति हृदयदेखि नै आभार प्रकट गर्छु।
यो पुस्तकका लागि अधिकांश उद्यमीहरूकहाँ गई अन्तर्वार्तासमेत लिएर रोचक प्रोफाइलहरू तयार गरिदिने कमल ढकाल, वल्लभ तिमल्सिना र परशुराम तिमल्सिनालाई म धन्यवाद दिन चाहन्छु। उनीहरूको सहयोगबिना यो पुस्तकले आकार लिन सम्भव थिएन। त्यसै गरी आफ्नो व्यस्तताका बाबजुद अन्तर्वार्ताका लागि अमूल्य समय दिएर सहयोग गर्ने मेरा सबै उद्यमी साथीहरूप्रति म कृतज्ञता ज्ञापन गर्न चाहन्छु।
यो पुस्तकको भाषा शुद्धाशुद्धि गरी मदत गर्ने मेरा मित्र जीवनप्रकाश नेपाललाई म धन्यवाद दिन्छु। साथै कम्प्युटर टङ्कन गर्ने मेरा प्रिय सहायक यज्ञरत्न शाक्य, रमण महर्जन र पुस्तकको प्रभावकारी आवरण तयार गर्ने भतिजा प्राचीनसिद्धि वज्राचार्यलाई म शुभाशिष् दिन्छु।
अन्त्यमा, मेरी जीवनसँगिनी सुशीला धाख्वा शाक्यसित विवाह गरेको बीसौँ वाषिर्कोत्सवको दिन यो पुस्तक प्रकाशन गर्न पाएकोमा म ज्यादै हर्षित छु।
२०६६ असार १९-कर्ण शाक्य
कर्ण शाक्यको नयाँ पुस्तक सोच, खोज अनि गर बजारमा उपलब्ध छ। पुस्तकका लागि सम्पर्क mail@nepalnature.com


ऑडियो:http://www.mediafire.com/?mnn2tynmwmz">नेपाल खत्तम छैन

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails