Saturday, August 4

किरा परेको तरकारी राम्रो!

 ज सम्म हामीहरु सधै सफा अनि हेर्दा राम्रो देखिने तरकारी मात्र मन पराउदै अनि किन्दै आएका थियौं तर आजको नागरिक दैनिकमा प्रकासित एउटा लेख पढ्दा हैरान मात्र हैन एक पल्ट सोच्न बाध्य पनि बनाई दियोन पत्याए पढेर हर्नु यो लेख आफै थाहा पाउनु हुनेछ.. 
    तपाईं बजारमा काउली किन्दै हुनुहुन्छ भने केमा ध्यान दिनुहुन्छ? पक्कै पनि किरा नभएको र सफा। वनस्पतिविद तीर्थबहादुर श्रेष्ठको बानी भने ठीक उल्टो छ। जुन काउलीमा किरा देखिन्छ, त्यही छान्छन्।
हरेक बिहान घरनजिकै सानेपाचोकमा ओल्टाइपल्टाइ गरेर तरकारी किन्छन् उनी। जुन काउलीमा किरा भेटिन्छ, त्यही जोख्न लगाउँछन्। ‘सफा र राम्रो देखिँदैमा त्यो तरकारी स्वास्थ्यवर्द्धक हुन्छ भन्न सकिँदैन,' श्रेष्ठ भन्छन्, ‘तरकारी जति सफा र राम्रो देखिन्छ, त्यत्तिकै विषादीयुक्त हुनसक्छ।'
दशबाह्र वर्षअघि पाँचखालबाट आएको तरकारी नखानू भन्थे रे। त्यतिखेर पाँचखालका किसानले किटनाशक विषादी अत्याधिक प्रयोग गर्ने गरेको उनी बताउँछन्। यतिसम्म कि बजारमा बेच्ने र घरमा खाने तरकारी छुट्टाछुट्टै उत्पादन गर्छन् भन्ने
हल्ला चलेको थियो। अहिले पाँचखालको मात्र कुरा रहेन। तरकारीमा किटनाशक विषादी प्रयोग गर्ने चलन जताततै छ।
बाली विविधिकरण आयोजनामा हुँदा श्रेष्ठको टोलीले यसै विषयमा एक अध्ययन गरेको थियो लमजुङको तांग्रिन गाउँमा। त्यसका लागि स्विजरल्यान्डकी एक प्रशिक्षार्थीले उक्त गाउँमा लामो अध्ययन गरेकी थिइन्। श्रेष्ठ भन्छन्, ‘त्यो अध्ययनबाट विषादी हालेको तरकारी सफा र किराकिरी नभएको तथा विषादी नहालेको तरकारी किराकिरी भएको, अलि फोहोरजस्तो पाइएको थियो।' त्यसपछि श्रेष्ठले तरकारी किन्ने बानी परिवर्तन गरे।

कसरी चिन्ने?
बजारमा आफ्नो रुचि र चाहनाअनुसार तरकारी किन्न पाइन्छ। ‘ती तरकारीमा विषादी प्रयोग भएको छ कि छैन भनेर ठ्याक्कै भन्न त सकिँदैन,' श्रेष्ठ भन्छन्, ‘तर केही संकेत पाइन्छ।'
काउली- काउली धेरै सेतो र सफा छ, थुप्रोमा एकदुई वटामा पनि किरा देखिएन भने विषादी धेरै प्रयोग भएको हुनसक्छ।
भन्टा- धेरै चिल्लो देखिन्छ भने विषादी राखेको हुनसक्छ। यो धेरै किरा लाग्ने तरकारी हो। अलि धेरै किन्दा एकदुईवटा पनि किरा देखिएन भने शंका हुन्छ। 
टमाटर- व्यापारीले राखेका टमाटरमा एउटै पनि किराले खाएको देखिँदैन भने विषादी राखेको बुझिन्छ।
च्याउ- धेरै चम्किलो छ भने विषादीको शंका गर्न सकिन्छ। सेतो नभएको च्याउ छान्नु राम्रो। आफ्नै रंग खैरो वा अँध्यारो छ भने राम्रो।
सिमी- यो पनि विषादी हालेर राम्रो पारेको हुन्छ। सिमीको थुप्रोमा दुईचारवटा किराकिरीले खाएको छ भने त्यो राम्रो।
मौसमी तरकारी- सबैभन्दा ध्यान दिनु पर्ने मौसमी हो कि होइन भन्ने हो। बेमौसमी तरकारी उत्पादनमा मल, किटनाशक विषादी धेरै प्रयोग गर्नुपर्छ। बेमौसमी तरकारी राख्न कोल्ड स्टोर चाहिन्छ। त्यहाँ किराले नखाओस् भनेर विभिन्न किटनाशक विषादी प्रयोग गरिन्छ।
तरकारी बजारमा जाँदा बेमौसमी तरकारी किनेर फूर्ति देखाउने साथी पनि देखेका छन् श्रेष्ठले। त्यो तरकारी आफैंलाई अस्वस्थ भएको उनीहरूलाई ख्याल हुँदैन। श्रेष्ठ मौसमी तरकारी खान जोड दिन्छन्।
अहिले बजारमा स्कुस पाइन्छ। तर यो स्कुसको मौसम होइन। मौसमको बेला मन नपराउनेले पनि त्यही स्कुस किनेर खान्छन्। ‘म तरकारी बजार जाँदा सबैभन्दा पहिला मौसमी तरकारी हेर्छु,' उनी भन्छन्, ‘जीवनशैलीलाई परम्परासँग जोड्यो भने हाम्रो जीवन स्वस्थ हुन्छ।'
श्रेष्ठले खोजिखोजी खाने केही मौसमी तरकारीको उदाहरण दिए जुन किसानले उत्पादन गर्दैनन्। वनबाट सिधै बजारमा आउँछन्। न्युरो, काभ्रो, सिमलिकानजस्ता वनमा पाइने तरकारी धेरै समय टिक्दैनन् तर ती निकै स्वस्थ हुने उनी बताउँछन्।
स्थानीय तरकारी- तरकारी किन्दा सकेसम्म स्थानीय छान्नुपर्ने उनको सुझाव छ। स्थानीय तरकारी ताजा हुने, स्टोरमा राख्न नपर्ने हुन्छ।
विकासे तरकारी- यो सामान्य तरिकाले उत्पादन हुन सक्दैन। यस्तो तरकारी उत्पादन गर्न विभिन्न विषादी हाल्ने सुझाव विज्ञले नै दिएका हुनछन्। यी सामान्य तरकारी जस्तो स्वस्थ नहुने श्रेष्ठ बताउँछन्।
श्रेष्ठका अनुसार तरकारी खासगरी तीन प्रकारका हुन्छन्। एक जरावाला- जस्तै मुला, गाजर, आलु। यी तरकारीमा विषादी प्रयोग कम हुन्छ। यो जातको तरकारीमा माटोमा हुने जुका पर्ने सम्भावना हुन्छ। राम्रोसँग पखालेन भने बरबाद। अर्को पात प्रकारका अर्थात सागपातहरू। तेस्रो फूल जातका । यी दुवै थरि तरकारीमा किराकिरी र रोग लाग्ने सम्भावना धेरै हुन्छ। यसले गर्दा विषादी अत्याधिक प्रयोग हुन्छ।
कसरी खाने?
अर्ग्यानिक तरकारीको उत्पादन बढ्दै गए पनि सबैको पहुँच छैन। त्यसैले विषादी नै प्रयोग नभएका तरकारी खान्छु भन्न गाह्रो छ। बजारबाट तरकारी किनेर ल्याएपछि पनि विषादी अझ कम गरेर खान सकिने श्रेष्ठ बताउँछन्। उनका अनुसार तरकारी पखाल्ने र काट्ने तरिकामा ध्यान दिने हो विषादी केही भए पनि घटाउन सकिन्छ।
तरकारी काट्नुअघि राम्रोसँग पखाल्ने। काटेर पखाल्दा तरकारीको बाहिरी भागमा भएको विषादी जताततै फैलिन्छ। त्यस्तै तरकारी पखाल्दा एउटै पानीमा धेरै नपखाल्ने। सकेसम्म जाली भएको भाँडो प्रयोग गर्ने जसले गर्दा तरकारी पखालेको पानी बाहिर जाओस्। सकिन्छ भने पहिला हल्का तातो पानीले पखाल्ने र पछि चिसो पानीले पखाल्दा अझ राम्रो हुने उनी बताउँछन्। यसले गर्दा तरकारीको बाहिरी भागमा प्रयोग भएको किटनाशक विषादी पखालेर केही कम गर्न सकिन्छ।

श्रोत : नागरिक

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails