Sunday, August 9


दुई वर्षअघि लागूऔषध खैरो हेरोइनसहित पक्राउ २. एक महिनाअघि खुकुरी-प्रहार तथा प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ ३. गत मंगलबार राति रक्सीले मातेर दुर्घटना गराउँदा ६ जनाको मृत्यु भएपछि पक्राउ

एउटा कारले एकैपटक ६ जनाको ज्यान लिएको घटना काठमाडौंका लागि पहिलो हो । तर, कारचालक विप्लवमानसिंह डंगोल हिरासतमा परेको पहिलोपटक होइन । लागूऔषध कारोबार, खुकुरी-प्रहार र प्रहरीमाथि दुव्र्यवहारको अभियोगमा उनी यसअघि पनि दुईपटक पक्राउ परेको खुलासा भएको छ ।
जथाभावी गाडी चलाएर दुर्घटना गराएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका विप्लवमान दुई वर्षअगाडि खैरो हेरोइनसहित पक्राउ परेका थिए । त्यस्तै एक महिनाअगाडि पाटनमा खुकुरी हानेको अभियोगमा उनी पक्राउ परेका थिए । प्रहरी परिसर काठमाडौंका प्रमुख नवराज सिलवालका अनुसार यी दुवै अभियोगमा उनीमाथि मुद्दा चलिरहेको छ ।
०६४ मा लागूऔषध मुद्दामा उनी २० हजार धरौटीमा रिहा भएका हुन् । यो मुद्दाको फैसला नहुँदै गत असार १६ मा पाटनका युवाहरूसँग झगडा परेपछि उनले खुकुरी हानेका थिए । त्यतिमात्र होइन, पक्राउ गर्न गएका प्रहरीलाई पनि हातपात गरेपछि लागेको सार्वजनिक अपराधको अभियोगमा उनी जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २८ हजार धरौटीमा रिहा भएका थिए । रिहा भएको दुई महिना नपुग्दै १९ गते मध्यराति मदिरा खाएर लठ्ठ भएर कार चलाएका उनले भोटाहिटीको अन्डरग्राउन्ड सब-वेनजिक पेटीमा हिँडिरहेका सातजनालाई कारले हानेका थिए । दुर्घटनामा पाँच भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको छ भने एक भारतीय नागरिक गम्भीर घाइते छन् ।
दुर्घटना हुँदा विप्लवसँगै कारमा रहेका तीनजनामध्ये सोजी श्रेष्ठ शनिबार प्रहरी परिसर काठमाडौं आएर बयान दिएका छन् । दुर्घटनाको समयमा उनी विप्लवसँगै कारको अगाडिको सिटमा बसेका थिए । उनले पनि बयानमा मोटरसाइकललाई ओभरटेक गर्ने प्रयास गर्दा दुर्घटना भएको बताएका छन् ।
दुर्घटनाको समयमा विप्लवसँगै कारमा सोजीका साथै काठमाडौं क्षेत्रपाटी घर भएका शेखर अग्रवाल र बेंग्लोर घर भई अहिले काठमाडौं आएका अभिजित रहेको डंगोलले बयान दिएका थिए । प्रहरीले अन्य व्यक्तिहरूलाई समेत बयानका लागि प्रहरी कार्यालयमा बोलाएको छ । तर, उनीहरू उपस्थित भएका छैनन् ।
दुर्घटनामा भारत कसवामेहसरी घर भएका ५० वर्षीय धर्मनाथ सिन्हा, भारत सीतामढी घर भई काठमाडौं बांगेमुढा बस्ने २९ वषर्ीय मदन गुप्ता, १५ वर्षीय सञ्जीव गुप्ता, ४० वर्षीय कृष्णादेवी, भारत मोतिहारी घर भई काठमाडौं कमलादी बस्ने ४६ वर्षीया विना सिंह र १७ वर्षीय सुजन श्रेष्ठको मृत्यु भएको छ । भारत घर भई काठमाडौं बांगेमुढा बस्ने २८ वर्षीय दीपक गुप्ता दुर्घटनामा गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ ।
मंगलबार राति जन्मदिन मनाउने क्रममा खिचापोखरीस्थित घरमै साथीहरूसँग हि्वस्की खाएर अर्धचेत भएको वेला २० वर्षीय डंगोलले आमाको कार लिएर घरबाट बाहिरिएको केहीबेरमै भोटाहिटीमा दुर्घटना गराएका थिए ।
दुर्घटनालगत्तै फरार भएका उनले बुधबार मध्यरात ११ बजे प्रहरी परिसर काठमाडौंको टोलीसँग आत्मसर्मपण गरेका थिए । डंगोललाई अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सातदिने म्याद लिएर हनुमानढोका हिरासतमा राखेको छ ।

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails