Friday, August 14

नेपालमा अलकायदाको आतंक

विश्व हल्लाएको आतंकवादी संगठन अलकायदासँग सम्बद्ध रहेको भन्दै पछिल्लो एक महिनामा नेपालभित्रै आठ जना शंकास्पद आतंककारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तीन पाकिस्तानी नागरिक र पाँच जना नेपाली छन्। पाकिस्तानीहरु नेपालबाट भारत छिर्न लाग्दै गरेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए भने अन्य पाँच जना नेपाली भारतसँग सीमा जोडिएको सुदूर पश्चिमको कैलालीमा पक्राउ परेका हुन्।

गत चैत ५ गते प्रहरीले काठमाडौंमा दुई थान एस.एम.जी.सहित तीन जनालाई पक्राउ गरेपछि नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी समूहको चलखेल बढेको प्रहरीले आशंका गरेको थियो। यद्यपि, यसअघि पनि नेपाल अन्तर्राष्ट्रिय आंतकवादीको लुक्ने ठाउँ रहेको धेरैले आशंका गर्ने गरेका थिए। यिनै आशंकाका आधारमा सुरक्षाकर्मीहरुले गोप्यरुपमा एउटा अनुसन्धान ब्युरो नै बनाएको थियो। सोही व्युरोले नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी समूहको सञ्जालबारे अनुसन्धान गरेर आफ्नो प्रतिवेदन तयार पारिसकेको बुझिएको छ। सो प्रतिवेदनमा दिएको सुझावअनुसार अहिले विमानस्थलमा विशेषगरी पाकिस्तान र भारतबाट आउने विमानमा निगरानी बढाइएको छ। सो रिपोर्ट सुरक्षासम्बद्ध उच्च अधिकारीको हातमा मात्र रहेको बुझिएको छ। चैत ५ गते पक्राउ परेका तीन जना भारतीय डन छोटे राजनको समूहका सदस्य रहेको प्रहरीको निष्कर्षपछि सीमापारिका आतंकवादीको चलखेल गर्न नेपाल सजिलो बन्दै गएको विश्लेषण पनि सुरक्षा संयन्त्रको छ। यही आशंका रहेको समयमा प्रहरीले एकजना पाकिस्तानी नागरिकलाई साउन ८ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्योे। पक्राउ परेका पाकिस्तानी नागरिक शेर आलाम हुन्। पाकिस्तानको कराँची हुँदै कतार पुगेको र त्यहाँ केही समय बसी नेपाल आएका पासपोर्ट नम्बर एई १७५७०७१ भएका ती व्यक्ति आउने शंका पाउनासाथ प्रहरी प्रधान कार्यालयको टोली विमानस्थल पुगेको थियो। दुई जना अलकायदा निकट व्यक्ति आउने खबर अन्तर्राष्ट्रिय गुप्तचर संस्थाले नेपाल प्रहरीलाई दिएको भएपनि एक जना दोहामै लुके भने एक जना प्रहरी फन्दामा परे। अहिले ती पक्राउ परेका व्यक्तिबारे भारत र अन्य मुलकका सुरक्षा अधिकारीले पनि चासो देखाइरहेका छन्। जन्म मिति २५ डिसेम्बर १९७९ भएका शेर आलामले ठमेलको पिलग्रीम गेष्ट हाउसमा कोठासमेत बुक गरिसकेका थिए। शेर आलाम नेपालमा कुन उद्देश्यले आए भन्नेबारे कुनै जानकारी दिएको छैन। यसअघि २०६४ पुस २ गते अपहरण परेपछि ७७ लाख रुपैयाँ फिरौती बुझाएर व्यवसायी महेश मुरारका छुट्दा तथा गत जेठ २८ गते जगदम्बा स्टिलका मालिक सञ्जय सुरेश अपहरण पर्दा पनि नेपालको सुरक्षा निकाय सशंकित भएको थियो। त्यसबेला २ लाख अमेरिकी डलर दिएर १३ असारमा दुबईमा फिरौती हुण्डीमार्फत् बुझाएर सुरेश रिहा भएका थिए। त्यसबेलादेखि नै नेपाल विश्व आतंकवादीहरुको क्रिडास्थल बन्न थालेका नेपालका व्यवसायीले आशंका गरेका थिए, जुन अहिले पुष्टी हुँदै गएको छ। अलकायदाको संगठित सदस्य भएर काम गरिरहेको भनिएका कैलालीका कमाण्डर शेरा भनिने मनिराम चौधरी, सहायक कमाण्डर सुहाग चौधरी, रोहित चौधरी, जयलाल चौधरी, सीताराम चौधरी र नरेश चौधरी अहिले प्रहरी खोरमा रहेपनि उनीहरुले आतंक मच्चाएर पैसा मात्र असुल्ने गरेको केहीको भनाइ छ। एक वर्ष पहिले गत असारमा डाक्टर असलम खान भन्ने व्यक्तिको हातबाट सदस्यता लिएर कैलालीमा अलकायदाको संगठन विस्तार गरेको यिनीहरुले बताएका छन्। डाक्टर असलम भारतको नयाँदिल्लीमा बस्दै आएका छन्। उनकै हस्ताक्षर रहेको पत्र कैलालीमा पक्राउ परेका सदस्यको साथबाट बरामद भएको छ। यो समूहले विभिन्न व्यापारिक प्रतिष्ठानका मालिकसँग ठूलो रकम चन्दा माग्ने र अपहरणको योजना बनाइरहेको पनि खुलेको छ। यो गिरफ्तारी र दबदबापछि तयार भएको उच्च सुरक्षा रिपोर्टमा नेपाल अन्तर्राष्ट्रिय अपराधी र आतंकवादीलाई संरक्षण दिने भूमि बन्दै गएको निष्कर्ष निकालिएको छ। नेपाल प्रहरीको डेटा रिट्रेबल सिस्टम कम्जोर भएकाले नेपालमा छिरेका अपराधी सहजै लुकेर बसेको र उनीहरुले यहाँबाट भारत तथा चीन र अरु पश्चिमा देशमा सम्पर्क गरेर आतंक मच्चाउने गरेको देखिएको एक प्रहरी अधीकृतले स्वीकारेका छन्।

कसरी सुरु भयो चलखेल? २०५६ साल पुस ९ गते नेपालको आकासबाट जब इण्डियन एअरको जहाज अपहरण भयो, तब नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय आतंकवादको समस्या देखा पर्योब। यही कारण नेपालमा अनावश्यक अन्तर्राष्ट्रिय सुरक्षाकर्मीको आवातजावत पनि बढ्यो। अहिले यही अलकायदा सदस्यको गिरफ्तारीलाई उछालेर भारत सरकारले एअर मार्शल (हतियार सहितको सुरक्षा दस्ता) विमानमा राखेर मात्र उडान भर्ने दवाव लगातार दिन थालेको छ। भारतले आफ्नो विमान र यात्रुको सुरक्षाका लागि नेपालतर्फ उड्ने हरेक विमानमा सुरक्षाकर्मी राख्ने प्रस्ताव नेपाल सरकारलाई पठाइसकेको छ। यदि भारतको यो प्रस्तावलाई नेपालको गृहमन्त्रालयले स्वीकार गरेमा काठमाडौं विमानस्थलमा हतियारसहितका भारतीय सेना ओहोर दोहोर गर्नेछन्। कुनै एक देश र क्षेत्रमा मात्र सीमित नभई विश्वभर फैलिएको अलकायदाको संगठन विश्वको सबैभन्दा गोलबद्ध र खतरनाक संगठन हो। आत्मघाती आक्रमणबाट प्रेरित अलकायदासँग लडाकुका अलावा हजारौं मिलीसीया छन्। धेरै देशमा अलकायदाको आफ्नै संगठन तथा स्थानीय लडाकुहरुको साथ रहेको छ। ओसामा बिन लादेनको उदय अमेरिकी सहयोग, प्रोत्साहन र संरक्षणमै भए पनि अहिले उनी विश्वकै टाउको दुःखाइ बनेका छन्। प्यालेष्टाइनी नेता डा. अब्दुल्लाह आजामले पेशावरमा अफगानी मुजाहिद्दिनलाई सहयोग गर्ने उदेश्यले मक्तवा अल खिदमत नामक संगठन खोलेका थिए। जसमा आजाम प्रमुख र लादेन उपप्रमुख थिए। लादेनले सन् १९८० को जुनमा आजामबाट फुटेर अरब ब्रिगेड खोलेका थिए। अलकाइदा वा आधार क्षेत्र भन्ने शब्द पनि आजामले एक लेखमार्फत् लेखेको अन्तर्राष्ट्रिय गुप्तचर संस्थाहरुको रिपोर्टले देखाएको छ। केही समयपछि आजामको हत्या भयो। आजामको हत्यामा लादेनकै हात रहेको अनुमान गरिएको छ। सन् १९८७ को जुनमा अफगानिस्तानको जाजीमा शिविर खोलेर बसेका लादेनको अलकायदाका लडाकू र सोभियत फौजबीच भएको भिडन्त संसारभर चर्चा बनेको थियो। जुन, लादेनलाई चर्चामा ल्याउने पहिलो घटना थियो। अहिले अलकाइदाको अमेरिका, यूरोप, अष्ट्रेलिया, अफ्रिका र एसियाका ४० देशमा संगठन रहेको छ। लादेन अहिले तालिवान नियन्त्रित अफगानिस्तान एवं सुडानका आफ्ना आश्रयस्थलमा लुकेको हुनसक्ने अनुमान छ। सन् १९८० मा अफगानिस्तान पुगेका लादेनले त्यहीँ बसेर अरबी मुलुकका लडाकु परिचालन गर्न र तालिम शिविर चलाउन थालेका थिए। सन् १९८९ मा अफगानिस्तानबाट सोभियत सेना फिर्ता भएपछि लादेन साउदी अरब फर्किएका थिए। पछि सुडान गएका लादेनले सोमालिया, दक्षिण यमन र साउदीको रियादमा भएका अमेरिका विरोधी आतंकवादी कारवाहीमा उनकै हात रहेको आशंका गरियो। साउदीले लादेनलाई 'अवाञ्छित व्यक्ति' घोषणा गर्दै उनको नागरिकता खारेज गर्ने एवं सम्पत्ति रोक्का गर्ने निर्णय गर्योे। सुडानमाथि आतंकवादीलाई आश्रय नदिन अन्तर्राष्ट्रिय दबाब बढ्यो र सुडानमै साउदी इन्टेलिजेन्सले उनको हत्या गर्ने प्रयास पनि गर्योआ। यिनै कारण लादेन सन् १९९६ मे मा फेरि अफगानिस्तान फर्किए र अहिलेसम्म त्यहीं रहेको बताइन्छ।
एसियामा अलकायदा अहिले अलकायदाका सदस्य अधिकांश पाकिस्त्ाानी नागरिक छन्। र, तिनै सदस्यले दक्षिण एसियामा संगठन बिस्तार गरिरहेका छन्। नेपालमा २०५२ साल फागुन १८ गते अलकायदा निकट भनिएका अजमुद्धिद मुस्लिम पहिलो पटक पक्राउ परेका थिए। त्यसपछि २०५३ साल असार २ गते लतिफ अहमद वाजा, मिर्जा निसार हुसेन र मोहम्मद किल्ले पक्राऊ परे। २०५३ साल भदौ ३१ गते सर्फराज पक्राऊ परे तर लगत्तै तत्कालीन नेता मिर्जादिल सादवेग र मोहम्मद मोहसीनको दवावमा उनीहरुलाई नेपाल सरकारले छाड्यो। २०५३ मंसिर ३० गते मञ्जुर अहमद देन्पोस, २०५३ पुस १ गते फैयज अहमद साह र २४ गते मोहम्मद सकिल सिद्धिकीलाई नेपालमा पक्राउ परे। २०५५ साल कार्तिक २९ गते लखवीर सिंह, २०५७ भदौ १८ गते मोहम्मद मुस्तक राह र मुस्ताक अहमद राह काठमाठौमा शक्तिशाली हतियार र विस्फोटकसहित पक्राऊ परे। असोज २३ गते मल्लिक हविव, चैत २९ गते मोहम्मद अर्सद चिमा र २०६० मंसिर १७ गते अब्दुल वाही काठमाडौमा भेटिए। २०६१ साउन २९ गते र भदौ ५ गते नेपाल प्रहरीले आतंकवादी गिरोहका सदस्य हाजी जमाल खान, हाफिज मोहम्मद हुसेन, रमजान मियाँ, सज्जाद आलम, अमीर जाफर, वसिर मिया, एजोज अहमद दादु र मुस्ताक अहमद दादुलाई पक्रियो। यसपछि पनि नेपालमा धेरै आतंकवादीहरु भेटिएका छन् र उनीहरु खाडी मुलुकबाट आउने बिमानबाटै नेपाल आएका हुन्। उनीहरुको गन्तव्य कि भारत कि युरोपेली मुलुक नै हुने गरेको छ। अलकायदाको संगठन दक्षिण एसियाको पाकिीतानमा निकै बलियो संगठन छ भने अफगानिस्तान र भारतमा पाकिस्तानबाटै आतंकपूर्ण गतिविधि हुने गरेको छ। नेपाल प्रहरीको पछिल्लो प्रतिवेदनअनुसार अहिले अलकायदाका निकै सदस्यहरु नेपाल भित्रिएका छन् र गत जुलाई १५ मा पासपोर्ट नं. वि.जेड. ५१९०४५१ भएका पाकिस्तानी नागरिक अव्दुल मेजद शेख र हिलाल अहमद भने काठमाडौं विमानस्थलबाटै कराँची उडेका छन्। तिनीहरुलाई पक्रन नेपाल प्रहरीलाई भारतको अनुसन्धान ब्यूरो सिविआईले समयमै सूचना नदिएकाले उनीहरु उम्केका हुन्। १९९३ मार्च १२ मा भारतको मुम्बई र भारतीय संसद्माथि शृङ्खलावद्व आक्रमण भए। ११ जुलाई २००६ मा अर्को शृङ्खलावद्व आक्रमणको शिकार बन्यो भारत। पछिल्लो समय नोभेम्बर २७, २००८ मा मुम्बईका पाँचतारे होटलमा एकसाथ आतंकवादी हमला भयो। यी सबै घटनामा कुनै न कुनै रुपमा अलकायदालगायत पाकिस्तानमा रहेका अतिवादी लडाकुको हात रहेको भारतले आरोप लगाउँदै आएको छ। सीमापारीका आतंकवादी संगठनबाट कुनै पनि दक्षिण एसियाका देश सुरक्षित छैनन्। पर्याप्त हतियार, पैसा र तालिमप्राप्त अलकायदाले नेपाली भूमि किन प्रयोग गर्दैछ त? यो प्रश्नको चित्तबुझ्दो जवाफ नेपालको सुरक्षा निकायसँग पनि छैन।
भारत–पाक तनाव र नेपाल पाकिस्तानी नागरिकले नेपाली भूमि दुरुपयोग गरिरहेको माथिको तथ्याङ्कले पनि देखाउँछ। २०५९ साल चैत ३० गतेनेपालमा तीन वर्षे कार्यकाल सकेर पाकिस्तान फर्किन लागेका पाकिस्तानी दुतावासका कन्सुलर शाखाका प्रथम सचिव मोहम्मद अर्सन चीमा जब पक्राउ परे त्यसपछि लगातार भारतले नेपालमाथि कुटनीतिक दबाब दिन थालेको हो। उनी त्यसबेला पृथ्वी राजमार्गको मर्स्याङदी–खैरेनी सडकखण्ड निर्माणको ठेक्का पाएको पाकिस्तानी निर्माण कम्पनी सचल इञ्जिनियरिङको बानेश्वरमा रहेको कार्यालयको भवनबाट १७ किलो प्लास्टिक एक्सप्लोसिभसहित पक्राउ परेका थिए। साथमा उनकी श्रीमती रुबीना पनि। पाकिस्तानी दुतावासको कर्मचारी भएर पनि उनीहरु घर फर्कने तयारीका लागि भन्दै बानेश्वरमा बसेको दुई दिन भएको थियो। उनीहरु त्यहाँ बसेको घरमा गम्भीर प्रकृतिको विस्फोटक पदार्थ रहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरु विस्फोटक पदार्थसहित पक्राउ परेका थिए। लगत्तै नेपाल सरकारले पर्सन नन् ग्राटा अर्थात् अबाञ्छित व्यक्तिको सूचिमा राखेर देश निकाला मात्रै गर्यो । उनी त्यसअघि पनि २०५६ पुसमा पनि नक्कली भारुसहित नेपालमै पक्राउ परेका थिए। त्यस्ता अपराधीलाई चुपचाप सुपुर्दगी गरेको भन्दै त्यसमा भारतले गम्भीर आपत्ति जनाएको थियो। यो घटनालगत्तै पाकिस्तान सरकारले उनलाई सबैखाले सेवाबाट हटायो। र, उनी आतंकवादी संगठनमा संलग्न भए। त्यसअघि उनी पाकिस्तानी सेनाको फोर्थ पञ्जाव रेजिमेण्टबाट अवकास लिएपछि १९९१ देखि गुप्तचर संस्था आई.एस.आई.मा आबद्ध भएका थिए। उनले नेपालमा त्यसपछि आई. एस.आईको प्रतिनिधि बनेर काम मात्र गरेनन् संगठन पनि बिस्तार गरे। उनले नेपालमा काम थाल्नुअघि नै २०५६ पुस ९ गते विमान अपहरण योजना बनाएको र त्यसअघि पनि नेपालमा आर.डि.एक्स जस्ता विस्फोटजन्य सामग्री आयात निर्यात गरेको भन्दै आई.एस.आईले पुरस्कृत गरेको सम्मको प्रतिवेदन भारतको गुप्तचर संस्था रअ ले निकालेको थियो। पाकिस्तानको पञ्जाव प्रान्तमा ५३ वर्षपहिले जन्मेका उनी पाकिस्तानको सियालकोट इलाकामा बस्दै आएका छन्। जहाँ अलकायदा तथा अरु विभिन्न आतंककारी संगठनको चलखेल हुने गरेको छ। अहिले सेना तथा गुप्तचर संस्थामा रहेको आधारमा पनि उनको संयन्त्र निकै बलियो देखिएको छ, जसले नेपालमा राम्रै प्रभाव बनाएका थिए। उनी नेपालबाट निकालिएपछि पाकिस्तान सरकारले नेपालमा अब्दुल माजिदलाई खटायो। उनले पनि आई.एस आईका लागि काम गरे र भारतीय गुप्तचर सस्था रअ का विरुद्ध धेरै काम गरे। उनले नेपाल व्यूरो सम्हालेकै समयमा २०६३ असार २७ गते मुम्वईमा बम हमला भयो। त्यो हमलामा पनि नेपाली भूमि प्रयोग भएको भारतीय समाचार संस्थाले दावी गर्दै आएका थिए। त्यही आरोप र अनुमान चलिरहेका बेला २०६५ भदौ १९ गते भारतीय राजदुतावासको इन्टेलिजेन्स व्यूरोका प्रमुख डिआईजि अरविन्द्र कुमारको सूचनाका आधारमा सलिम अव्दुल गानी अर्थात् अस्फाक अहमद साह र रियाज अबुकारलाई गिरफ्तार गर्योर। यिनीहरु नेपालमा होटल तथा म्यानपावर व्यवसायीका रुपमा काम गर्दै आएका थिए। नेपालमा उनीहरुविरुद्ध कुनै अभियोग नरहे पनि भारतले मोष्टवान्टेडको सूचिमा राखेकाले नेपाल प्रहरीको महानगरी प्रहरी अपराध महाशाखामार्फत् उनीहरुलाई भारत बुझायो। चैत २० गते उनीहरु भारत पुगे र नेपाल प्रहरीले यसबारे सामान्य सूचनाबाहेक केही दिएन। पटके चोर पक्रँदासमेत पत्रकार सम्मेलन गर्ने नेपाल प्रहरीले यी र यस्ता घटनाबारे नेपाली मिडियालाई केही नबताए पनि भारतीय सञ्चारमाध्यमले भने यी दुई आरोपीको गिरफ्तारी र सुपुर्दगी गरेर नेपाल प्रहरीले इमान्दार गल्ति गरेकोसम्म टिप्पणी गरेका थिए। त्यसबेला नेपालका लागि भारतीय गुप्तचर प्रमुख आलोक जोशी थिए र उनले पक्राउ परेका दुई अभियुक्तलाई तत्काल सुपुर्दगी गर्न नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक नवराज सिलवाललाई भारतीय दुतावास मार्फत् दबाब दिएका थिए। त्यसवेला प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाने तालिका तय भइसकेकाले भारतले यसैलाई बार्गेनीङ पावरको रुपमा लिएको थियो। नत्र प्रचण्डको भारत भ्रमणमा यो मुद्दाले राम्रै स्थान पाउने थियो। त्यसैले सहजताका लागि प्रहरीले ती मुम्बई हमलाका दुई अभियुक्तलाई भारतको जिम्मा लगायो। नेपाल र भारतबीच यस्ता अभियुक्त हस्तान्तरणका लागि खास सन्धि भएको छैन र यसरी आपराधिक गिरोहका सदस्य बुझाउनु सम्झौता बाहिरको प्रक्रिया हो। काठमाडौं प्रहरीको टेररिष्ट सेलले १९९४ को जुलाई २४ मा पनि भारतको बम हमलामा संलग्न भनिएका याकुव मेमनलाई पक्रेर कसैलाई थाहै नदिई भारतको जिम्मा लगाएको थियो। नेपाल र भारत तथा नेपाल र पाकिस्तानबीच त्यस्ता असमझदारी केही नरहे पनि यी दुई छिमेकीले नेपालको भूमि प्रयोग गरेर एक अर्कामाथि जाइलाग्ने गरेको अवस्था छ। जबजब नेपालका सरकार प्रमुखहरु भारतको भ्रमणमा जाने तालिका बन्छ तबतब भारत र नेपालका बीचमा आरडिएक्स, नक्कली भारु, अलकायदाको चलखेल अनि असुरक्षाको कुरा उठाएर भारतले नेपाललाई अप्ठ्यारोमा पार्ने गरेको छ। अहिले पनि प्रधानमन्त्री माधव नेपालको भारत भ्रमण तय भइसकेपछि यी र यस्तै चलखेलका तथ्य बाहिर आएको छ। जुन तथ्यका आधार र सूचना भारतको सूचना व्यूरोले नेपाल प्रहरीलाई दिन्छ र नेपाली भूमिमा उनीहरु पक्राउ पर्छन्। अहिले पनि यस्तै भएको छ। भारतले नेपाली आकासमा उड्ने आफ्ना विमानमा एअर मार्शल (हतियार सहितको सुरक्षा दस्ता) राखेर मात्र उडान भर्नेदेखि अलकायदाको आतंक नियन्त्रणका लागि आवाश्यक गुप्तचर संयन्त्र बढाउने सम्मका नयाँ नयाँ मुद्दा उठाएको छ। जसलाई क्षेत्रीय सुरक्षाका हिसावले र भारतको कुटनीतिक दाऊपेचका हिसावले पनि हेर्नु विश्लेषणा जरुरी छ। किनकि, नेपालमा अलकायदा र उसँग सम्बन्धित संगठनको चलखेल बढेको हो तर पनि यो मुद्दा सधैं भारतले बार्गेनिङ इस्यूका हिसाबले मात्रै उछाल्ने गरेको छ। अनि यो भारतको लहैलहैमा लागेर अमेरिकी गुप्तचर सस्था सि.आई.ए.का एजेण्टसम्म अहिले काठमाडौमा ओइरिएका छन्। र, अलकायदाको चलखेलबारे अनुसन्धान गरिरहेका छन्।

श्रोत: नेपाली पत्र



1 प्रतिक्रिया:

Sebastian Espinoza said...

यो दुर्भाग्यपूर्ण छ कि मानवले के गर्न सक्छ। पूर्णतया शर्म

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails