Monday, August 30

हामी दुवै 'मुडी’

आलोक नेम्वाङ, निर्देशक
रनासँग चिनजान बाह्र वर्षअघि निर्देशक एवं पत्रकार भूषण दाहालले गराइदिएका हुन् । मलाई सम्झना छ- उनले पहिलोपटक 'हाई, आइएम र्फमर मिस नेपाल' भनेर आफ्नो परिचय दिएकी थिइन् । उनले मलाई चिनजान भएको केही छिनमै भनेकी थिइन्, 'मलाई लाग्छ- म तिमीसँग कम्र्फट हुुन्छु ।' पूर्वमिस नेपालभन्दा बाहेक बाँकी उनका परिचय थाहा पाइनँ । उनको प्रस्तुतिले निकै प्रभावित भएँ । घर गएपछि सोचेँ, 'को हो- झरना बज्राचार्य ? जसले मलाई पहिलो भेटमै प्रभावित बनायो । त्यसपछि मैले उनलाई दुई हप्ता डान्स सिकाएँ ।

उनले दुई हप्तामै राम्रो सिकिन् । उनलाई डान्स सिकाएको दिन र हतियार फिल्ममा अनुबन्धित भएको क्षण सधैँ मेरो स्मृतिमा आइरहन्छ । मेरा जीवनका मीठा स्मृतिमा त्यो दिन पनि पर्छ । डान्स सिकाउने क्रममा हामी एक-अर्कामा नजिकियौँ । थोरै भए पनि एक-अर्कालाई बुझ्ने अवसर पायौँ । त्यसवेलादेखि अहिलेसम्म हामी सहकार्य गरिरहेका छाँै । सहकार्य भएको यत्तिका वर्ष भइसक्यो । तर, कसैले झरनाको सकारात्मक र नकारात्मक पाटो के हो ? भनेर सोध्यो भने त्यसवेला मसँग कुनै उत्तर हुने छैन । बस् मलाई यति थाहा छ- उनी प्रतिभाशाली र असल अभिनेत्री हुन् । अनि मेरी असल साथी।


एउटा असल साथी हुनुको नाताले झरना कस्तो पुस्तक पढ्छिन् ? कस्ता खाना मन पराउँछिन् ? यस्ता धेरै कुरा मलाई थाहा छ । उनको जीवनशैली, अभिरुचि आदि विषयमा धेरै हदसम्म जानकार छु । उनी खाना बनाउन यति माहिर छिन् कि उनले जे बनाए पनि सधँै-सधैँ खाइरहूँजस्तो बनाउँछिन् । मलाई त यस्तो लाग्छ- उनले जति मीठो खाना अरू कसैले बनाउँदैनन् । मैले 'सानो संसार' फिल्ममा झरनालाई खेलाउन चाहेको थिएँ । तर, भइदियो कस्तो भने फिल्मको कथावस्तुमा अलि फरक विषयवस्तु भयो । र, उनकोजस्तो क्यारेक्टर कथाले मागेन । अहिलेको 'कोही मेरो' फिल्ममा कथाको मागअनुसार नै झरनालाई खेलाएको हुँ । साथी भएको आधारमा होइन । यदि, साथी भएकै कारण खेलाउने भए 'सानो संसार'मा पनि उसैलाई नै राख्थेँ । 'कोही मेरो' फिल्ममा उनले जीवन्त अभिनय गरेकी छिन् । उनको अभिनयबाट म एकदमै सन्तुष्ट छु


झरना बज्राचार्य, नायिका


आलोकलाई पहिलोपटक भूषण दाइले भेटाउन लानुभएको थियो । अहिले पनि सम्भिरहेकी छु । ऊ इमेज च्यानलको अफिसमा लेदरको कालो ओभरकोट लगाएर बसिरहेको थियो । पहिलोपटक देख्दा मलाई त दुब्लो बच्चाजस्तो लाग्यो । त्यसपछि आलोकसँग निरन्तर काम गरिरहेकी छु । उनलाई निर्देशकका रूपमा म जति सम्मान र आदर गर्छु, एउटा साथीका रूपमा पनि उत्तिकै सम्मान र माया गर्छु । आफूलाई बिर्सेर पनि उनी साथीको टेककियर गर्छ । आलोकले मेरो असाध्यै ख्याल गर्छ । उनले हरेक पाइलामा मलाई यो गर्नू/त्यो नगर्नू भनेर सुझाइरहेका हुन्छ । मलाई यस्तो लाग्छ- हामी दुवै मुडी छौँ ।' हामी दुवैलाई कुनै पनि काम आँटेपछि नगरी हुन्न । दुवैलाई आफ्नो 'स्पेस' चाहिन्छ । यो वा त्यो रूपमा 'स्पेस' खोजी गरिरहेका हुन्छौँ ।

रुचि, जीवनशैली आदि हिसाबले पनि आलोकसँग म नजिक छु । मैले उनलाई धेरै पकाएर खुवाएकी छु । मेरो पाककलाको त ऊ फ्यान नै हो । आलोकलाई बढी चिल्लो, गुलियो, चिसो र अमिलो मन पर्छ । तर, ऊ आफैँचाहिँ त्यति मीठो पकाउँदैन । एकपटक उसले पकाएको चिकेन खाएकी थिएँ । त्यति मीठो लागेन । हामी एक अर्काको केही कुरा चित्त बुझेन भने आफैँलाई थाहा हुन्छ र हामी चुप लागेर बस्छौँ । एकपटक सांगि्रला होटलमा हामी डिनरका लागि गएका थियौँ । त्यो दिन मैले भनेकी थिएँ, 'आलोक हामी कहिल्यै झगडा गर्दैनौ है ।' त्यतिवेला नै हाम्रो सानो विवाद भयो । अर्डर गरेको डिनर पनि नलिँदै आलोक जुरुक्क उठेर रिसाउँदै हिँड्यो । फेरि तीन दिनपछि ऊ आफैँले फोन गर्‍यो । हामीले झगडा गरेर लामो समयसम्म नबोलेको भनेको त्यही वेला हो । त्यसबाहेक उनी मदेखि रिसाएको याद छैन । उनले निर्देशन गरेको 'कोही मेरो' फिल्ममा म प्रमुख भूमिकामा छु । यो फिल्मको थिमअनुसार मैले न्याय गरेकी छु ।


साभार: नयाँ पत्रिका
शब्द/तस्बिर - श्रीधर पौडेल

0 प्रतिक्रिया:

Post a Comment

कृपया केहि सुझाव या प्रतिक्रया भए अबश्य लेख्नु होला, धन्यबाद...!!!

Related Posts with Thumbnails